पोखरा । शरद यामको सुरुआतसँगै अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । गत असोज महिनामा मात्र ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । तीमध्ये दक्षिण एसियाली देशका १२ हजार ६४५ र अन्य मुलुकका २० हजार ३१८ पर्यटक रहेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा दुई हजार ४१६ ले बढी हो । गत वर्ष असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले यो क्षेत्र घुमेका थिए । आयोजनाका प्रमुख डा. रविन कडरियाले चालु आर्थिक वर्षमा असोज नै सबैभन्दा धेरै पर्यटक भित्रिएको महिना भएको बताए । यसअघि साउनमा २६ हजार ५९१ र भदौमा १७ हजार ९१३ पर्यटक आएका थिए ।
असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिन्छ, त्यसैले यो अवधिमा पदयात्रीको चाप बढ्ने गरेको आयोजनाको भनाइ छ । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा हिँड्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गर्छ, जबकि सडक मार्गबाट ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पनि हरेक वर्ष यो क्षेत्रमा पुग्ने गर्छन् ।
यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र म्याग्दीको घोडेपानीलगायत गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गर्छ । दसैँ र तिहारको बीचमा पदयात्रामा जानेको सङ्ख्या झन् बढी हुने प्रमुख कडरियाले बताए ।
सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन र संस्कृतिका कारण यो क्षेत्र पदयात्रा रुचाउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
