काठमाडौं — देशभर आज पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भाग र कोशी तथा बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। राति बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ। बिहानको समयमा हुस्सु र कुहिरोले दृश्यता केही कम हुने भएकाले सवारीसाधन चलाउँदा सावधानी अपनाउनुपर्ने हुन्छ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले उक्त क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको पछिल्लो अवस्था बुझेर मात्र हिँड्नु उपयुक्त हुन्छ।
