नेपाल प्रिमियर लिगमा पाकिस्तानका खेलाडीहरूले खेल्न पाउने कि नपाउने भन्ने विषयमा अन्योल सिर्जना भएको छ। क्रिकेटसम्बन्धी पोर्टल क्रिकइन्फोले पाकिस्तान क्रिकेट बोर्डबाट आवश्यक अनुमति नपाउँदा उनीहरूको सहभागिता अनिश्चित बनेको जनाएको छ।
क्रिकइन्फोका अनुसार खेलाडीहरूले पाउनुपर्ने नो–अब्जेक्शन सर्टिफिकेट अहिलेसम्म जारी भएको छैन। अझ पहिले नै अनुमति पाइसकेका खेलाडीहरूको हकमा समेत उक्त अनुमति हाललाई स्थगित गरिएको बताइएको छ।
यसैबीच, एनपीएलसँग जोडिएका स्रोतलाई उद्धृत गर्दै क्रिकइन्फोले पाकिस्तान क्रिकेट बोर्डले प्रत्येक खेलाडीका लागि करिब २५ हजार अमेरिकी डलर बराबरको शुल्क मागेको दाबी गरेको छ। यस विषयमा बोर्डले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
एनपीएलका लागि अनुबन्धित पाकिस्तानी खेलाडीहरूमा टी–२० टोलीका कप्तान साहिबजादा फरहान, हैदर अली, हुनेन शाह, हुसेक तलत, इफ्तिकार अहमद, हसन अली र ओसामा मिर रहेका छन्। तीमध्ये कुनै पनि खेलाडी एनपीएलकै समयमा हुने पाकिस्तानका अन्य अन्तर्राष्ट्रिय खेलको टोलीमा समावेश छैनन्।
