सेन्जेन । एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले एपीईसी सीईओ शिखर सम्मेलन २०२६ आगामी नोभेम्बर १७ र १८ मा चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयोजना हुने भएको छ ।
‘साझा समृद्धि र सबैका लागि लाभदायी भविष्यको प्रवर्द्धन’ नारासहित हुने सम्मेलनमा एपीईसी सदस्य अर्थतन्त्रका नेताहरू तथा व्यावसायिक प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनमा स्वतन्त्र व्यापार क्षेत्रको विकास, क्षेत्रीय सम्पर्क विस्तार, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, ग्रेटर बे एरिया र दिगो विकासका विषयमा छलफल हुनेछ ।
चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सीसीपीआईटी) ले आयोजना गर्ने दुईदिने सम्मेलनले व्यापार सहजीकरण, लगानी विस्तार र औद्योगिक सहकार्यलाई प्राथमिकता दिनेछ ।
सन् १९९६ देखि हरेक वर्ष हुँदै आएको यो सम्मेलन नेताहरू र व्यवसायीबीच क्षेत्रीय आर्थिक विकासबारे छलफल गर्ने उच्चस्तरीय मञ्च हो । चीनले यस वर्षको एपीईसी सहकार्यका लागि खुलापन, नवप्रवर्तन र सहकार्यलाई तीन प्रमुख प्राथमिकता बनाएको छ ।
मलेसियाको एसोसिएटेड चाइनिज चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष एनजी यी पिङले सम्मेलनले क्षेत्रीय व्यापार सहज बनाउनुका साथै कम्पनीहरूका लागि अवसर सिर्जना गर्ने अपेक्षा व्यक्त गरेका छन् । प्यानासोनिक होल्डिङ्सका कार्यकारी अधिकारी मासाहारु नाकायामाले खुला सहकार्य नै क्षेत्रीय आर्थिक गतिशीलताको आधार रहेको बताएका छन् । सीसीपीआईटीका अध्यक्ष रन होङबिनका अनुसार सम्मेलनका क्रममा ‘सेन्जेन पहल’ सार्वजनिक गरिनेछ .
