वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा दीपावली मनाउने भएका छन्। उनी त्यहाँ आयोजना हुने विशेष समारोहमा सहभागी भएर दीप प्रज्वलन गर्नेछन्।
भारतीय समाचार संस्था पीटीआईका अनुसार यस कार्यक्रमसँगै ह्वाइट हाउसमा दीपावली मनाउने पुरानो परम्पराले निरन्तरता पाउनेछ। उक्त परम्पराको सुरुवात पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा भएको थियो।
त्यसपछि राष्ट्रपति बाराक ओबामाले पनि आफ्नो कार्यकालमा ह्वाइट हाउसमा दीपावली मनाउने परम्परालाई निरन्तरता दिए। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि ह्वाइट हाउसमै दीपावली समारोह आयोजना गरेका थिए।
यस वर्षको कार्यक्रम ओभल अफिसमा हुनेछ। राष्ट्रपतिको मुख्य कार्यकक्षमा आयोजना हुने भएकाले यसपालिको समारोहलाई विशेष रूपमा हेरिएको छ।
दीपावलीलाई अन्धकारमाथि उज्यालोको विजयको पर्व मानिन्छ। अमेरिका र नेपालसहित विश्वभरका हिन्दू समुदायले यो पर्व धुमधामसँग मनाउँछन्। ह्वाइट हाउसमा हुने समारोहले अमेरिकामा बस्ने दक्षिण एसियाली समुदायको सांस्कृतिक उपस्थितिलाई पनि उजागर गर्ने अपेक्षा गरिएको छ।
