ढाका । म्यान्मासँगको सीमा नजिकै सशस्त्र समूहसँग भएको झडपपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनालाई उद्धार गरेको छ । बिहीबार राति भएको उक्त घटनामा एक सैनिकको ज्यान गएको बङ्गलादेशी सेनाले जानकारी दिएको छ ।
सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर) का अनुसार १५ देखि १६ जनाको हतियारधारी समूहले करिब १२० जना रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिकलाई अपहरण गरेको सूचना प्राप्त भएको थियो । त्यसपछि सुरक्षा बलले म्यान्माको सीमा नजिकै टेकनाफको रोङ्गिखालीस्थित पहाडी क्षेत्रमा उद्धार अभियान थालेको थियो ।
अभियानका क्रममा भएको गोली हानाहानमा सैनिक मोहम्मद तितास शेखको बायाँ काँधमा गोली लागेको थियो । अत्यधिक रक्तस्राव भएपछि उहाँको उपचारकै क्रममा मृत्यु भएको सेनाले जनाएको छ । उहाँ २७ वर्षका हुनुहुन्थ्यो ।
बङ्गलादेशमा अहिले १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीले आश्रय लिइरहेका छन् । तीमध्ये अधिकांश सन् २०१७ मा छिमेकी म्यान्मामा भएको सैन्य दमनबाट ज्यान जोगाउन भागेर आएका हुन् । धेरैजसो शरणार्थी कोक्स बजार आसपासका विशाल शिविरमा बस्दै आएका छन्, जहाँ मानव तस्कर समूहले विदेशमा रोजगारी वा अन्यत्र जाने अवसर खोजिरहेका शरणार्थीलाई निशाना बनाउने गरेका छन् ।
यसैबीच, सन् २०१७ मा म्यान्माको सैन्य कारबाहीका क्रममा रोहिङ्ग्या गाउँ जलाइएको र सर्वसाधारणको हत्या गरिएको घटनालाई लिएर नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारसम्बन्धी मुद्दा चलिरहेको छ । उक्त मुद्दामा अदालतले यही नोभेम्बर १९ मा फैसला सुनाउने कार्यक्रम छ ।
