कञ्चनपुर । कञ्चनपुरमा यस वर्ष धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा धान उत्पादन अघिल्लो वर्षको तुलनामा १ दशमलव १९ प्रतिशतले बढेको हो । उत्पादकत्व पनि प्रतिहेक्टर ४ दशमलव २ टनबाट बढेर ४ दशमलव २५ टन पुगेको छ ।
केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउँदका अनुसार यस वर्ष जिल्लामा दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन उत्पादन भएको थियो भने त्यसअघिको वर्ष एक लाख ९३ हजार ९८४ मेट्रिकटन मात्र उत्पादन भएको थियो । जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
मौसम अनुकूल हुनु, उन्नत जातका बीउको प्रयोग बढ्नु र सिँचाइ सुविधा विस्तार हुँदै जानु उत्पादन वृद्धिका मुख्य कारण भएको केन्द्रको भनाइ छ । ज्ञान केन्द्रले किसानलाई पचास प्रतिशत अनुदानमा बीउ र साना सिँचाइ (ट्युबेल) उपलब्ध गराउँदै आएको छ । गत वर्ष किसानलाई ७५० वटा बोरिङ उपलब्ध गराइएकोमा यस वर्ष ४९५ वटा बोरिङ उपलब्ध गराइएको छ ।
नहरको पानी नपुग्ने ठाउँमा ट्युबेलले ठूलो राहत दिएको किसान बताउँछन् । बेदकोट नगरपालिका–७ का राजेश्वरी जोशीका अनुसार आधुनिक उपकरण र उन्नत बीउको सहज उपलब्धताले कम लागतमा धान र गहुँ उत्पादन गर्न सजिलो भएको छ ।
जिल्लामा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसबाहेक महाकाली सिँचाइ आयोजनाको पहिलो चरणबाट चार हजार ८०० र दोस्रो चरणबाट छ हजार ८०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ । यी आयोजनाबाट भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म पानी पुगेको छ । कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिमको अन्न भण्डार मानिन्छ ।
