काठमाडौं । नेपाल प्रहरीले पत्रकारहरूलाई साइबर ब्युरोमा बोलाउनुको कारण प्रधानमन्त्री कार्यालयको चासो रहेको बताएको छ। प्रहरीले शुक्रबार राति जारी गरेको वक्तव्यमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रहरीविरुद्ध गलत सूचना फैलिइरहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेपछि पत्रकारलाई बोलाइएको उल्लेख छ।
वक्तव्यअनुसार पछिल्लो समय प्रहरीविरुद्ध निरन्तर गलत समाचार र सन्देश प्रचार भइरहेका छन्। यस्ता सामग्रीले प्रहरीको व्यावसायिक छवि, सर्वसाधारणको भरोसा, सरकार र प्रहरीबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको प्रहरीको भनाइ छ। सोही चासो सम्बोधन गर्न साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेको प्रचारको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिएको वक्तव्यमा जनाइएको छ।
यसअघि शुक्रबार प्रहरीले नयाँ पत्रिकाको कार्यालयमा साढे दुई घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्न खोजेको थियो। केही पत्रकारलाई नियन्त्रणमा लिएर पछि छाडिएको थियो। सो प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूलाई जानकारी नभएको बताएका थिए। तर प्रहरीको वक्तव्यले प्रधानमन्त्री कार्यालयकै चासोपछि आफूहरू खटिएको प्रस्ट्याएको छ।
प्रहरीले पत्रकार बोलाउने कार्यलाई नियमित कामको हिस्सा भन्दै यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरेको छ। वक्तव्यमा प्रेसलाई राज्यको चौथो अंग भन्दै प्रहरी सधैँ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख छ।
