काठमाडौँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा क्रिकेटको रोमाञ्चसँगै गीत–संगीतले पनि दर्शकको मन जितिरहेको छ । यस महिनाको ९ गतेदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किड्स, काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
मैदानमा खेल जति प्रतिस्पर्धात्मक छ, दर्शक दीर्घामा बज्ने संगीतले वातावरण त्यति नै रमाइलो बनाएको छ । आधुनिक पप र र्यापदेखि सदाबहार फिल्मी गीतसम्म, लोक–पप शैलीका धुन र भोजपुरी गीतसमेत मैदानमा गुञ्जिरहेका छन् । भिटेनका चर्चित र्याप गीतहरूसँगै अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय ‘गंगनम स्टाइल’को धुनले पनि दर्शकलाई नचाइरहेको छ ।
यस सिजनमा मैदानमा संगीतको जिम्मेवारी एलओडी क्लबले सम्हालेको छ । मनोरञ्जन साझेदारका रूपमा जोडिएको क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठका अनुसार खेलको माहोल र दर्शकको उत्साह हेरेर गीत छनोट गरिन्छ । कतिपय गीत आफैं छानिने र कतिपय आयोजकको अनुरोधमा बजाइने उनले बताए ।
प्रतियोगितालाई थप संगीतमय बनाउन आयोजकले दुईवटा आधिकारिक गीत सार्वजनिक गरेको छ । लक्ष्मण शर्माको शब्द रहेको ‘अल टिम्स एन्थम’मा आठै टोलीको प्रतिनिधित्व गरिएको छ भने ‘मैदानै थर्काउने’ गीतले नेपाली मौलिक संस्कृति र पर्यटकीय स्थललाई राष्ट्रिय गौरवसँग जोडेको छ ।
त्यसैगरी आठै टोलीले आफ्नो स्थानीय पहिचान झल्काउने छुट्टाछुट्टै एन्थम तयार पारेका छन् । कर्णाली याक्सको गीतमा रारा ताल र सांस्कृतिक सम्पदा, सुदूरपश्चिम रोयल्सको गीतमा खप्तड र शुक्लाफाँटा, लुम्बिनी लायन्सको गीतमा बुद्धको जन्मभूमि र पाल्पाको ढाका टोपीको चर्चा छ ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरज खतिवडाका अनुसार टिमको एन्थम र स्थानीय लयले खेलाडी र समर्थकबीचको सम्बन्ध बलियो बनाउँछ । उनले मैथिली र स्थानीय बाजागाजाका गीत बजाउन आयोजकलाई आग्रह गरिएको बताए । खेल र संगीतको यो संगमले नेपाली क्रिकेटलाई अझ व्यावसायिक र मनोरञ्जनात्मक बनाएको छ ।
