सुनसरीको देवानगञ्ज गाउँपालिकामा खेतखेतसम्म विद्युत् पुर्याउने काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा सञ्चालन भइरहेको कृषि सिँचाइ विद्युतीकरण आयोजनामा करिब ३० करोड रुपैयाँ लगानी भएको छ। आयोजना पूरा भएपछि किसानले विद्युतीय मोटरबाट कम खर्चमा सिँचाइ गर्न पाउनेछन्।
वडा नम्बर ६ का किसान हिरा मेहता तीन बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गर्छन्। पछिल्ला चार वर्षदेखि धानको बीउ उत्पादन गर्दै आएका उनले डिजेल पम्पसेट चलाउँदा प्रतिघण्टा करिब ३०० रुपैयाँ खर्च हुने गरेको बताए। विद्युत्बाट सिँचाइ गर्दा प्रतिघण्टा ५० रुपैयाँभन्दा कम खर्च हुने उनको भनाइ छ।
वडा नम्बर २ का रमेश मेहताले आठ बिघा जमिनमा धान, मकै, गहुँ, तोरी र जुट लगाउँछन्। डिजेल पम्पसेट महँगो पर्ने र समयमा पानी नपाउँदा उत्पादनमा असर परेको उनले बताए। आफ्नै पम्पसेट नभएका किसानले अरूको पम्पसेट प्रयोग गर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब २०० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार बाँकी क्षेत्रमा पोल गाड्ने र तार विस्तार गर्ने काम भइरहेको छ। आगामी मङ्सिरदेखि आयोजनाको औपचारिक शुभारम्भ गर्ने तयारी छ। गाउँपालिकाका सातवटै वडाका खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। हाल वडा ४, ६ र ७ मा विद्युतीकरणको काम भइरहेको छ।
यसअघि गाउँपालिकाले किसानलाई विद्युतीय मोटर वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०८३/८४ मा एक हजार १६ वटा मोटर वितरण गरिएको छ भने करिब ५० वटा वितरण गर्न बाँकी छ।
देवानगञ्जमा ६ हजार ४५ परिवार कृषि पेसामा आबद्ध छन्। यहाँ चार हजार ६२५ हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये तीन हजार ५८२ हेक्टरमा धान, तीन हजार ३४६ हेक्टरमा हिउँदे मकै र एक हजार ३२ हेक्टरमा गहुँ खेती हुन्छ। गाउँपालिकाका करिब ९० प्रतिशत बासिन्दा कृषिमा निर्भर छन्। विद्युतीय सिँचाइ विस्तार भएपछि उत्पादन लागत घट्नुका साथै वर्षभरि खेती गर्न र उत्पादन बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।
