भोजपुरमा धान पाकेर भित्र्याउने बेलामा मौसम बिग्रिएपछि किसान चिन्तामा परेका छन् । बिहीबारदेखि परिरहेको लगातारको पानीले खेतमा पाकेको धान ढल्न थालेको छ भने काटेर राखिएको बाली भिज्ने र दाना झर्ने जोखिम बढेको छ ।
जिल्लाका गाउँगाउँमा यतिबेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन् । तर, वर्षा र असिनाको सम्भावनाले बाली समयमै काटेर सुरक्षित ठाउँमा पुर्याउन कठिन भएको छ । पाकेको धान पहेँलो भइसकेको अवस्थामा पानी पर्दा खेतमै ढल्न थालेको किसानले बताएका छन् ।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका किसान टंकप्रसाद घिमिरेका अनुसार बिहीबारदेखि पानी रोकिएको छैन र अझै परिरहेमा धानबालीमा थप क्षति पुग्ने डर छ । षडानन्द नगरपालिका–४ की किसान सङ्गीता राईले धान काट्ने, सुकाउने र घरमा भित्र्याउने काम प्रभावित भएको बताइन् ।
धान भोजपुरका ग्रामीण किसानको प्रमुख खाद्य बाली हो । वर्षभरि परिवारलाई पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले किसानले महिनौँसम्म गरेको मेहनत र लगानी बाली भित्र्याउने समयमा मौसम बिग्रँदा जोखिममा परेको छ । किसान अहिले मौसम खुल्ने र घाम लाग्ने प्रतीक्षामा छन्, ताकि खेतमा रहेको धान काटेर सुकाउन र सुरक्षित रूपमा घरमा भित्र्याउन सकियोस् ।
