धनकुटा — कुनै बेला खेतीपातीका लागि अनुपयुक्त ठानिएर त्यत्तिकै छाडिएका जङ्गलका बिचका चट्टानी भूभाग अहिले धनकुटाका किसानका लागि आम्दानीको नयाँ स्रोत बनेका छन्। अन्नबाली उब्जाउन नसकिने त्यस्ता जमिनमा अहिले मौरीका घार राखिएका छन्, र मह उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा मौरीपालनप्रतिको आकर्षण निरन्तर बढ्दै गएको छ।
धनकुटा नगरपालिका–१ का दुर्गा दर्लामी यसको राम्रो उदाहरण हुन्। उनले २०७५ सालदेखि सुरु गरेको मौरीपालन अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ। पाख्रिबास नगरपालिका–९ मजुवास्थित जङ्गलको बीचमा करिब १०० घार मौरीपालन गर्दै आएका दर्लामीले वार्षिक करिब छ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। प्रयोगविहीन जमिनलाई सदुपयोग गरेर नियमित आम्दानी गर्न सक्नु उनका लागि ठूलो सन्तुष्टिको विषय हो।
वैदेशिक रोजगारीबाट फर्किएका शुक्र राईले पनि मौरीपालनलाई आफ्नो व्यावसायिक पहिचान बनाएका छन्। उनीसँग अहिले २०० भन्दा बढी आधुनिक मौरीघार छन्। राईले मौरीपालनसँगै आधुनिक मौरीघार उत्पादन गर्ने उद्योगसमेत सञ्चालन गरेका छन्। वार्षिक ५०० देखि ७०० सम्म मौरीघार निर्माण गरी मौरीसहित र घारमात्रै बिक्री गर्दै आएका उनले मह, मौरी र मौरीघार बिक्रीबाट वार्षिक २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा परम्परागत तथा आधुनिक गरी ११ हजार ९३२ घारमा सेरेना जातका मौरीपालन भइरहेको छ। जिल्लामा वार्षिक करिब २९ दशमलव ६ मेट्रिकटन मह उत्पादन हुने गरेको छ, र मह बिक्रीबाट मात्रै किसानले वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गरिरहेका छन्। केन्द्रका प्रमुख नगेन्द्र रानामगरका अनुसार यो तथ्याङ्कले मौरीपालन व्यक्तिगत आम्दानीको माध्यममा मात्र सीमित नरही जिल्लाकै कृषि अर्थतन्त्रमा योगदान पुर्याउने व्यवसायका रूपमा विकास भइरहेको देखाएको छ।
धनकुटामा उत्पादन हुने मह स्थानीय बजारदेखि तराईका विभिन्न सहर र काठमाडौँ उपत्यकासम्म पुग्ने गरेको छ। उत्पादित मह अन्तर्राष्ट्रिय बजारसम्मसमेत पुग्ने गरेको केन्द्रले जनाएको छ। जिल्लामा महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र सहिदभूमि गाउँपालिकामा सबैभन्दा बढी मह उत्पादन हुने गरेको छ।
सम्भावना हुँदाहुँदै पनि मौरीपालन चुनौतीमुक्त भने छैन। जिल्लाको माथिल्लो क्षेत्रमा हुने तरकारीखेतीमा विषादीको प्रयोगले मौरीपालनमा समस्या सृजना गर्ने गरेको केन्द्र प्रमुख रानामगर बताउँछन्। विषादीको अनुचित प्रयोगले मौरीको स्वास्थ्य र उत्पादनमा असर पार्न सक्ने भएकाले मौरीपालक किसानका लागि यो गम्भीर चुनौती बनेको छ। कृषि उत्पादन र मौरीपालनलाई सँगसँगै अघि बढाउन विषादीको सुरक्षित प्रयोग, किसानबिच समन्वय र सचेतना आवश्यक रहेको मौरीपालक किसानको भनाइ छ। कृषि ज्ञान केन्द्रले युवालाई लक्षित गरी मौरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ, जसबाट कृषि क्षेत्रमा रोजगारी सृजना हुनुका साथै स्थानीय किसानको जीवनस्तर सुधारमा सहयोग पुग्ने केन्द्रको विश्वास छ।
