बाँके । छिमेकी मुलुकबाट आउने फूलको आयातमा कडाइ भएपछि बाँके जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकाका किसानले यस वर्ष ठूलो मात्रामा फूल उत्पादन गरेका छन् ।
फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरका अनुसार जिल्लामा फूलको माग हरेक वर्ष बढ्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका–२० निवासी बिन्दुले झन्डै दश वर्षअघि व्यावसायिक फूलखेती सुरु गरेकी थिइन् । तिहारका बेला फूलको माग धान्नै कठिन हुने उनको अनुभव छ ।
सुरुमा १० कट्ठा जग्गामा खेती थालेकी बिन्दुले अहिले दुई बिघामा फूलखेती विस्तार गरेकी छन् । उनले टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका सयपत्री लगाएकी छन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट भित्रिने प्लास्टिकका फूल र माला रोक्नुपर्ने उनको माग छ ।
यसैबीच नेपालगन्जका तीन युवाले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघामा यस वर्षदेखि सयपत्रीको व्यावसायिक खेती थालेका छन् । सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्यले सामूहिक रूपमा गरेको खेतीमा अहिले सयपत्री ढकमक्क फुलेको छ । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूलको बिक्री सुरु भइसकेको छ ।
नेपालगन्जमा फूलको मागलाई ध्यान दिएर खेती थालिएको शाहले बताए । उनीहरूले चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बेच्ने तयारी गरिरहेका छन् भने ग्राहकलाई होम डेलिभरी सेवा पनि दिन थालेका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार स्थानीयस्तरमै उत्पादन बढेपछि तिहारमा बाहिरबाट आउने फूलको विकल्प तयार हुँदै गएको छ । पछिल्लो केही वर्षयता निर्वाहमुखी रूपमा फूल लगाउँदै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै गएको उनले बताइन् ।
