चितवन — नारायणी नदीमा मोटरबोट चढ्ने पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायीहरूले सञ्चालनको पुरानो तरिका परिवर्तन गरी नयाँपन दिनुपर्ने बताएका छन्। पर्यटकको रुचि बदलिँदै गएको र अन्य ठाउँमा पनि यस्तो सेवा विस्तार हुँदै गएको अवस्थामा पुरानै शैलीले मात्रै पर्यटकलाई आकर्षित गर्न नसकिने उनीहरूको भनाइ छ।
नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले मोटरबोट सञ्चालनमा नयाँ शैली र विविधता अपनाउनुपर्ने आवश्यकता औँल्याए। पर्यटकले अहिले फरक–फरक अनुभव र विविधता खोज्ने गरेको भन्दै उनले सेवामा सुधार नगरे व्यवसायमा थप चुनौती आउने बताए। व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुनुभन्दा फरक–फरक प्रकारका बोट सञ्चालन गरेर पर्यटकलाई नयाँ अनुभव दिनुपर्ने उनको भनाइ छ।
नारायणी नदीमा मोटरबोट सञ्चालन गर्न ११ वटा कम्पनी दर्ता भएकामा हाल नौ वटा कम्पनीका बोट सञ्चालनमा छन्। अहिले तीन वटा ठुला र १५ वटा साना गरी १८ वटा मोटरबोट सञ्चालन हुने गरेका छन्। नदीमा एकपटक घुम्न प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क लाग्ने गरेको छ।
यसैबीच, पर्यटकको आगमन घट्दा सञ्चालन खर्च जुटाउन समेत कठिन भएको व्यवसायीहरूले बताएका छन्। आयुस्मा मोटरबोट सञ्चालन गर्दै आएका विजयचन्द्र अधिकारीले गत वर्षको तुलनामा यस वर्ष व्यापार १० प्रतिशत पनि नरहेको बताए। दसैँको समयमा समेत नारायणगढमा पर्यटकको चहलपहल नदेखिएको उनको भनाइ छ।
बाढीका कारण नदीको धार परिवर्तन भएर नदी साँघुरिएको र किनारका केही भाग कटानमा परेका छन्। बाढीको त्रास अझै कायम रहेकाले व्यवसायीले सावधानी अपनाउँदै बोट सञ्चालन गरिरहेका छन्। अहिले बोटलाई सामान्य परीक्षण गरी निश्चित मार्गमा चलाउन थालिए पनि नारायणी पुलमुनिबाट लैजान भने अनुमति दिइएको छैन। अधिकारीका अनुसार नदीको अवस्था यस्तै रहे चैत–वैशाखतिर बोट चलाउनै कठिन हुन सक्छ।
