जुम्ला — कर्णाली प्रदेशमा स्याउ विकास बोर्ड स्थापना गर्ने तयारी अघि बढेको छ। बोर्डको स्थापना तथा सञ्चालनबारे शनिबार जुम्लामा सरोकारवालासँग छलफल गरी राय सुझाव सङ्कलन गरिएको छ।
छलफल स्याउ संसदीय सरोकार समूहको आयोजनामा भएको थियो भने कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समन्वय गरेको थियो।
मन्त्रालयका सचिव चन्द्रप्रसाद रिसालले जुम्लासहित माथिल्लो कर्णालीमा उत्पादन हुने स्याउको प्रवर्द्धनका लागि बोर्ड गठनको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार बोर्ड गठनका लागि आवश्यक नीतिगत तथा कानुनी काम भइरहेको छ र कर्णालीको स्याउले बजार पाउने कुरा सुनिश्चित गर्न मन्त्रालयले यसलाई प्राथमिकतामा राखेको छ।
नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले स्याउको उत्पादन, बजारीकरण, प्रवर्द्धन र विस्तारलाई व्यवस्थित गर्न बोर्ड आजको आवश्यकता भएको बताए।
बोर्डसम्बन्धी विधेयक कर्णाली प्रदेशसभाबाट पारित हुन ढिलाइ भएको छ। हिउँदे अधिवेशनबाट विधेयक पारित भए किसानको हितमा काम हुने संविधानसभा सदस्य तथा पूर्वपशुपन्छी राज्यमन्त्री गोमा गौतम कुवँरले बताइन्।
जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा ठुलो परिमाणमा स्याउ उत्पादन हुन्छ। बोर्डको कार्यालय सबै जिल्लालाई पायक पर्ने गरी जुम्लामा राख्ने तयारी रहेको नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए। आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईँले विधेयक प्रदेशसभामा पेस हुने तयारी भएकाले किसानका सुझाव सङ्कलन गर्न जुम्लामा छलफल आयोजना गरिएको बताए।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा चार हजार ६०४ हेक्टरमा स्याउखेती भइरहेको छ। त्यसमध्ये ५३ हेक्टरमा फुजी र गाला जातका स्याउ छन्। जुम्लाका २४ हजार ८३८ घरपरिवारमध्ये १९ हजार ३९१ घरपरिवार स्याउखेतीमा संलग्न छन्।
