सुर्खेत — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशका रैथाने बाली र बीउबिजनसँगै माटोको संरक्षण गर्नुपर्ने बताएका छन्। शनिबार लेकबेसी नगरपालिकास्थित दशरथपुरको कृषि अनुसन्धान केन्द्रको निरीक्षणपछि त्यहाँका अधिकारीहरूसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।
मुख्यमन्त्री शाहीले कर्णालीमा कम्पोष्ट मलको प्रयोग बढाउँदै रासायनिक मल र विषादी पूर्ण रूपमा हटाउन नयाँ प्रविधि विकास गर्न केन्द्रलाई अनुरोध गरे। रैथाने बाली र बीउबिजनलाई निरन्तरता दिँदै प्राङ्गारिक उत्पादन बढाउने, माटोको उर्वराशक्ति जोगाउने र यहाँका परम्परागत कृषि उपज संरक्षण गर्नु अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले कृषि अनुसन्धान टोलीलाई ठूलो मात्रामा जैविक मल उत्पादन, बिक्री र वितरण गर्ने गरी अध्ययन तथा अनुसन्धान अघि बढाउन निर्देशन दिए। रैथाने र प्राङ्गारिक उत्पादन वृद्धिका लागि प्रदेश सरकार कृषि अनुसन्धान केन्द्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको मुख्यमन्त्री शाहीले बताए।
मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने कृषि उत्पादन लोप हुने अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने र रैथाने बाली जोगाउने उपायबारे केन्द्रले विस्तृत अध्ययन गर्नुपर्ने बताए। केन्द्रले रासायनिक मल प्रयोग नभएको शुद्ध प्राङ्गारिक बीउ उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।
छलफलमा कृषि अनुसन्धान निर्देशनालय दशरथपुरका निर्देशक देविनिधि तिवारीले निर्देशनालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० वटै जिल्ला भए पनि आवश्यक जनशक्तिको अभावका कारण सबै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न नसकिएको बताए। बीउ उत्पादन कार्यमा प्रदेश सरकारको थप लगानी भएमा अझ धेरै र प्रभावकारी काम गर्न सकिने उनको भनाइ थियो।
