पर्सा — छठपर्वका अवसरमा सिर्सिया नदीमा पूजा गर्ने बर्तालुको सहजताका लागि नदीमा फोहर र उद्योगबाट निस्कने पदार्थ फाल्न पूर्ण रूपमा रोक लगाउने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बारा र पर्सा जिल्लाको औद्योगिक करिडोर भएर बग्ने सिर्सिया नदीको पानी सफा र स्वच्छ बनाउने गरी विभिन्न निर्णय गरेको हो।
बैठकले उद्योगहरूले आफ्नो प्रशोधन केन्द्रबाट सफा पानी मात्र नदीमा छोड्नुपर्ने र रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रत्येक उद्योगले आफ्नो बहिर्गमन प्रशोधन केन्द्र २४ घण्टा पूर्ण रूपमा सञ्चालन गर्नुपर्नेछ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा भएको बैठकले व्यक्तिगत रूपमा प्रशोधन केन्द्र राख्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य सङ्घको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र बनाउने निर्णय पनि गरेको छ। त्यसका लागि जग्गा पहिचान र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिनेछ।
बैठकले यसअघि सिर्सिया नदीबारे भएका निर्णय र कामको समीक्षा गर्नुका साथै नदीको दीर्घकालीन पुनरुत्थानका लागि सङ्घीय र प्रदेश सरकारसँग प्राविधिक सहयोग लिइने निर्णय गरेको छ। वीरगन्ज महानगरपालिका र आसपासका पालिकाले सहरको मुख्य ढल नदीमा मिसिन नदिन वैकल्पिक नाला निर्माण गरी ढल डाइभर्सन गर्ने र तीनै तहको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।
