झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा अघि बढेको आयोजनामा काँकडभिट्टा–सीतापुरीबीचको ४५ किलोमिटर पूर्वी खण्डको ठेक्का इभ्रास्कन कालिका जेभीले पाएको हो।
निर्माणका क्रममा यातायात व्यवस्थापनमा ध्यान नपुग्दा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी, हिलो र धुलोले यात्रा जोखिमपूर्ण बनेको छ। यसले दुर्घटनाको सम्भावना बढाएको छ भने यात्रु, यातायात व्यवसायी र बजार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्।
झापा क्षेत्र नं २ की सांसद तथा प्रतिनिधिसभाकी पूर्व उपसभामुख इन्दिरा रानामगरले आयोजना, निर्माण व्यवसायी र ट्राफिक प्रहरीसँग छलफल गरी निर्माणलाई यात्रुमैत्री बनाउन आग्रह गरेकी छन्। छलफलमा जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष राई र आयोजनाका इन्जिनियर आश्रय महत सहभागी थिए। आयोजनाले हालसम्म ५६ प्रतिशत काम सकेको र आगामी चार महिनामा ७० प्रतिशत पुर्याएर चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने प्रतिबद्धता जनाएको रानामगरले बताइन्।
उनले सुरक्षित आवागमन, व्यवस्थित डाइभर्सन, पर्याप्त सङ्केत र प्रभावकारी ट्राफिक व्यवस्थापन सुनिश्चित गर्नुका साथै धुलो नियन्त्रण र चाडपर्वमा वैकल्पिक मार्गको मर्मत गर्न आग्रह गरेकी छन्।
यसैबीच उज्यालो नेपाल पार्टीले ढिलासुस्ती र अव्यवस्थाविरुद्ध दबाबमूलक अभियान सुरु गरेको छ। पार्टीका केन्द्रीय सदस्य सन्तोष आचार्यले काँकडभिट्टामा साङ्केतिक विरोध गरिएको र ठेक्का सम्झौताका यात्रु हितसम्बन्धी सर्त पालना गर्न माग गरिएको जानकारी दिए।
विसं २०८० माघ १९ मा सुरु भएको आयोजना २०८३ माघ १८ भित्र सम्पन्न गर्नुपर्नेछ। यसमा एसियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत र नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानी रहेको छ।
