स्याङ्जा जिल्लामा अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ। निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम सूचीअनुसार जिल्लामा अब दुई लाख ४९ हजार ६३ जना मतदाता कायम भएका छन्। २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई समेटेर तयार पारिएको यो सूचीमा पुरुष एक लाख २३ हजार ११२ जना, महिला एक लाख २५ हजार ९५० जना र अन्य एक जना रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले गत असोजमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गरेको थियो। सोही क्रममा सूचीबाट दुई हजार ५७२ जनाको नाम हटाइएको छ। कार्यालय प्रमुख श्रीराम थापाका अनुसार हटाइएका नाममध्ये एक हजार ३०८ जनाको मृत्यु भइसकेको थियो भने एक हजार २६४ जनाको नाम दोहोरो रूपमा दर्ता भएको पाइएको थियो।
अद्यावधिकका क्रममा नामावलीमा रहेका त्रुटि सच्याउने कामसमेत भएको छ। नागरिकबाट प्राप्त निवेदनका आधारमा ३४५ जना मतदाताको विवरणमा देखिएका गल्ती सच्याइएको थापाले जानकारी दिए। त्यसैगरी ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जना मतदाताको केन्द्र परिवर्तन गरिएको छ।
यसअघि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा दुई लाख ४८ हजार ८१६ जना मतदाता रहेका थिए। अद्यावधिकपछि मतदाता सङ्ख्या २४७ जनाले बढेको छ।
