तिहार नजिकिँदै गर्दा गुल्मीका व्यावसायिक फूल किसान वर्षात र हावाहुरीका कारण समस्यामा परेका छन्। चाडपर्व तथा मेला–महोत्सवलाई लक्षित गरेर लगाइएका सयपत्री र मखमली फूलमा पानी र हावाले क्षति पुर्याएपछि किसान चिन्तित बनेका हुन्।
रेसुङ्गा नगरपालिका–६ सिमाघाटका किसान प्रेम नेपालीले करिब चार रोपनी खुला जमिनमा लगाएका फूल वर्षातले ढलेका छन्। तिहारलाई लक्षित गरेर मेहनतका साथ हुर्काएका फूल पानीले ढलेपछि अपेक्षित उत्पादन लिन नसकिने चिन्ता उनलाई छ। अघिल्लो वर्ष राम्रो उत्पादन र बजार पाएका उनले यस वर्ष पनि राम्रो आम्दानीको अपेक्षा गरेका थिए, तर बिक्री गर्ने समयमा परेको वर्षातले उनको योजनामा असर पुर्याएको छ।
त्यस्तै रेसुङ्गा नगरपालिका–३ बेहोरेका किसान भबिन्द्र घर्तीमगरको खेतीमा पनि वर्षात र हावाहुरीले क्षति पुर्याएको छ। उनले चारवटा टनेल निर्माण गरी व्यावसायिक रूपमा फूल खेती गर्दै आएका थिए। गत असोजमा परेको वर्षातसँगै आएको हावाहुरीले टनेल नै ढलेपछि टनेलभित्र लगाइएका फूलमा क्षति पुगेको हो। टनेल भत्किएसँगै फूलका बिरुवा तथा उत्पादनमा समेत असर परेको छ।
घर्तीमगरले यस वर्ष सयपत्रीसँगै मखमली फूलसमेत उत्पादन गरेका छन्। तिहारको समयमा सयपत्री र मखमली फूलको माग उच्च हुने भएकाले उनले बजारलाई लक्षित गरेर खेती विस्तार गरेका थिए। तर उत्पादनको महत्त्वपूर्ण समयमा आएको वर्षातले लगानी र मेहनत खेर जाने हो कि भन्ने चिन्ता बढाएको छ।
गुल्मीमा हाल उत्पादित सयपत्री फूल प्रतिकिलो करिब ३५० रुपैयाँमा बिक्री भइरहेको छ। तिहार नजिकिँदै जाँदा फूलको माग अझै बढ्ने अपेक्षा गरिएको छ, तर वर्षातले उत्पादनमा क्षति पुर्याएपछि बजारको मागअनुसार फूल उपलब्ध गराउन कठिन हुने हो कि भन्ने चिन्ता किसानमा देखिएको छ।
जिल्लामा करिब ३० जना किसान व्यावसायिक रूपमा फूल खेतीमा आबद्ध रहेको बताइएको छ भने साना तथा ठूला गरी करिब एक सय जना किसान फूल खेतीमा संलग्न छन्। अघिल्ला वर्षहरूमा जिल्लामा करिब एक सय रोपनी क्षेत्रफलमा फूल खेती गरिएको पाइएको थियो।
तिहारको पाँचौँ दिन अर्थात् भाइटीकाका दिन दाजुभाइ तथा दिदीबहिनीले एकअर्कालाई सप्तरङ्गी टीका लगाउनुका साथै फूलका माला लगाइदिने परम्परा छ। विशेषगरी सयपत्री, मखमली र गोदावरीलगायत फूलको प्रयोग हुने भएकाले यस समयमा फूलको माग उच्च हुने गर्दछ।
स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि तिहारका लागि बाहिरी जिल्लाबाट फूल तथा माला ल्याउनुपर्ने निर्भरता कम हुने अपेक्षा गरिएको छ। स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउनुका साथै ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरेको छ।
