किभ — युक्रेनको राजधानी किभमा आइतबार राति हवाइ हमलाको चेतावनी दिने आधिकारिक एप ह्याक भएपछि हजारौँ बासिन्दा त्रासमा परेका छन्। ह्याकरहरूले एपमार्फत विकीरण र आणविक हमलाको झुटा सूचना पठाएका थिए।
स्थानीय समयअनुसार राति करिब २२:४७ बजे पहिलो सन्देश पुगेको थियो। युक्रेनी भाषामा पठाइएको उक्त सन्देशमा किभमा विकीरणको खतरा घोषणा गरिएको दाबी गरिएको थियो। त्यसको एक मिनेटपछि रुसी भाषामा अर्को सन्देश आयो, जसमा युक्रेनभरि आणविक सतर्कता जारी हुने र ‘ओरेसनिक’ उडिरहेको उल्लेख थियो।
त्यसपछि २२:४९ बजे तेस्रो सन्देशमा रासायनिक हमलाको खतरा रहेको भन्दै बाहिर ननिस्कन आग्रह गरियो। सोही मिनेटमा चौथो सन्देशमार्फत किभमा सडक भिडन्त भइरहेको भन्दै घरबाहिर ननिस्कन चेतावनी दिइएको थियो। पछि ती सबै चेतावनी खारेज गरिएका छुट्टाछुट्टै सन्देश पठाइए।
युक्रेनी वायुसेनाले टेलिग्राममार्फत एपमा शत्रुतापूर्ण हस्तक्षेप भएको पुष्टि गर्दै कुनै पनि विकीरणको खतरा नरहेको स्पष्ट पारेको छ। केन्द्रीय गुप्तचर एजेन्सीले पनि गडबडी पुष्टि गर्दै सर्वसाधारणलाई आधिकारिक माध्यमबाट मात्र जानकारी लिन आग्रह गरेको छ।
एजेन्सीका अनुसार गडबडीका कारण लभिभ क्षेत्रका लाउडस्पिकरहरूमा समेत विकीरणसम्बन्धी साइरन बजेका थिए। भिन्नित्स्या क्षेत्रकी गभर्नर नताल्या जाबोलोत्नाले साइबर आक्रमण भएको पुष्टि गर्दै सन्देशमा आएका लिङ्कहरूमा क्लिक नगर्न चेतावनी दिएकी छन्।
युक्रेनको डिजिटल रूपान्तरण मन्त्रालयको सहयोगमा सञ्चालित यो एपले सुरक्षा खतरा सुरु र अन्त्य भएको तत्काल जानकारी दिने गर्छ।
