तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। तिहारलाई लक्षित गरी लगाइएको पहेँलो र सुन्तला रङको सयपत्रीले किसानका बारी सजिएका छन्। स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट फूल आयात गर्नुपर्ने बाध्यता घट्दै जाने विश्वास किसानहरूको छ।
भिमाद नगरपालिका–६ को बाग्टारस्थित बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री खेती गरेका छन्। उनीहरूले दुई–दुई रोपनी जग्गामा फूल लगाएका छन्। किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न नगरपालिकाले कृषि विकास शाखामार्फत प्राविधिक तथा आर्थिक सहयोग दिँदै आएको छ।
रेनु थापाका अनुसार स्थानीय उत्पादन बढे आयातित फूलमा निर्भरता घट्छ र किसानको आम्दानी पनि बढ्छ। तर उत्पादित फूलको व्यवस्थापन भने चुनौती बनेको छ। चाडपर्व लक्षित फूल समयमै बिक्री नभए खेर जाने जोखिम छ। फूललाई लामो समय ताजा राख्ने चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता किसानमा छ। बद्रिनाथ गैह्रेका अनुसार स्थानीय बजारमा स्थानीय फूललाई प्राथमिकता दिइए किसानलाई आगामी वर्ष थप क्षेत्रफलमा खेती विस्तार गर्न प्रेरणा मिल्नेछ।
