बागलुङ — जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङमा वर्षौँदेखि चल्दै आएको भवन अभावको समस्या अन्ततः समाधान भएको छ। प्रहरी परिसरभित्र एकैपटक चार वटा नयाँ भवन बनेपछि भाडाका कोठामा बस्नुपर्ने प्रहरी अब कार्यालय परिसरभित्रै बस्न थालेका छन्।
यसअघि कार्यालयको अवस्था निकै जीर्ण थियो। जस्ताले छाएका टहरा र ३० वर्ष पुरानो साँघुरो भवनबाटै प्रशासनिक काम, हिरासत कक्ष र हातहतियार भण्डारणसम्मको काम चलाउनुपर्थ्यो। आवासका लागि ठाउँ नपुग्दा केही प्रहरी भाडाका कोठामा बस्न बाध्य थिए।
सङ्घीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत रु नौ करोड ७१ लाख ९३ हजार ५०० को लागतमा व्यारेक, हिरासत कक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण भएका छन्।
नवनिर्मित व्यारेक भवनको भुइँतलामा मेस, भण्डारकक्ष र आवासको व्यवस्था छ। महिला प्रहरीका लागि छुट्टै व्यारेक बनाइएको छ। आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा बनेको यो भवनमा १४० जना प्रहरी बस्न सक्नेछन्। महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष बनेका छन्। हिरासत भवनमा सुरक्षा, भेटघाट र अन्तरवार्ता कक्ष तथा नाबालिगका लागि दुई छुट्टै कक्ष छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहमा सहजता थपिएको छ।
सदरमुकामको अवस्था सुधारिए पनि जिल्लाका अन्य प्रहरी चौकीको अवस्था भने अझै कमजोर छ। जिल्लाभरका १५ वटा प्रहरी चौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन्। आठ वटा चौकीको आफ्नै जग्गा छैन भने जग्गा भएका सात वटा चौकीमा भवन निर्माण हुन सकेको छैन। मुख्य प्रवेशद्वार मालढुङ्गास्थित चौकी भने चार वर्षदेखि घाटको सत्तलमा बसेर सेवा दिइरहेको छ; त्यहाँ भवन निर्माणको शिलान्यास भइसकेको छ।
