भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्क र काभ्रेबेँसी क्षेत्रका किसानले यस वर्ष धानखेतीमा ठूलो सहजता पाएका छन् । विभिन्न ठाउँमा सिँचाइ कुलो निर्माण तथा विस्तार भएपछि खेतबारीमा पानी पुग्न थालेको छ, जसले गर्दा किसानले समयमै धान रोप्न र बाली हुर्काउन सकेका हुन् ।
यसअघि सिँचाइको अभावमा खेतीपाती गर्न निकै कठिनाइ थियो । आकाशे पानीको भरमा मात्र खेती गर्नुपर्ने बाध्यताले धान रोपाइँमै सास्ती हुने गरेको थियो । तर कुलो बनेपछि अवस्था फेरिएको छ ।
स्थानीय किसान टङ्कप्रसाद घिमिरेका अनुसार सिँचाइ पुगेका क्षेत्रमा धानखेती गर्न पानीको कुनै समस्या छैन । रोपाइँ गर्न र बालीले पानी खोजेको बेलामा खेतमा पानी लगाउन अहिले सजिलो भएको छ । खेतमा पानी पुग्ने भएपछि कामको बोझ घटेको र उत्पादनमा पनि सहयोग पुगेको उनको भनाइ छ ।
वडाध्यक्ष नभराज माङ्पाहाङका अनुसार लेखर्क र काभ्रे क्षेत्रका किसानलाई लक्षित गरी घिमाल कुलो, सुन्तले कुलो, बरडाँडा कुलो, जौबारी कुलो र विजालेस कुलोलगायतका सिँचाइ आयोजना निर्माण गरिएका छन् । यी कुलोले स्थानीय किसानको खेतबारीसम्म पानी पुर्याउन सजिलो बनाएको उनले बताए ।
कृषि उत्पादन बढाउन सिँचाइ सुविधा निर्णायक हुने भएकाले वडाले विभिन्न निकायसँग पहल र समन्वय गर्दै आवश्यक संरचना निर्माण र विस्तारमा ध्यान दिइरहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए । खेतीयोग्य जमिनमा समयमै पानीको व्यवस्था गर्न सके किसानलाई खेतीपातीमा प्रोत्साहन मिल्ने र समग्र उत्पादन बढ्ने उनको भनाइ छ ।
ग्रामीण क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुँदै गएपछि वर्षाको भरमा मात्र खेती गर्नुपर्ने बाध्यता क्रमशः कम हुँदै गएको छ । कुलो निर्माणले किसानलाई धानखेती गर्न सहज बनाउनुका साथै खेतबारीको उपयोग पनि बढाएको छ ।
