पर्वत । मनसुनको झरीपछि आएको बाढी र पहिरोले थिलथिलो बनाएको जलजला गाउँपालिकामा क्षतिको लगत सङ्कलन र मूल्याङ्कनको काम सकिनै लागेको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले गाउँपालिकाभर ठूलो नोक्सानी पुर्याएको थियो।
जनप्रतिनिधि र प्राविधिक सम्मिलित संयुक्त टोलीले वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा स्थलगत निरीक्षण गरेर विवरण सङ्कलन र मूल्याङ्कन गरी निस्सा वितरण गरिसकेको छ। सबैभन्दा बढी क्षति भएको वडा नम्बर ७ का धाइरिङ र नाग्लीवाङमा एक–दुई दिनभित्रै मूल्याङ्कन सकिने गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।
प्रारम्भिक विवरणअनुसार बाढीपहिरोले ३१६ घरमा क्षति पुगेको छ। तीमध्ये १२६ घर पूर्ण रूपमा र ५० घर आंशिक रूपमा क्षतिग्रस्त छन् भने १४० घर जोखिममा छन्। प्रमुख प्रशासकीय अधिकृत सन्दीप लामिछानेले यो जानकारी दिएका हुन्।
सबैभन्दा बढी क्षति वडा नम्बर ८ को फर्सेमा भएको छ, जहाँ ७५ घर बगेका छन् र २७ घर जोखिममा छन्। वडा नम्बर ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् भने वडा नम्बर ४ को लामाखेतमा कालीगण्डकीको बाढी पसेको थियो। पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन्।
बाढीपहिरोले निजी आवाससँगै कोदो र धानलगायत खाद्यबाली, सुन्तलाखेती, खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ र बस्ती संरक्षणका पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार राहतको काम सकेर अब अस्थायी आवास व्यवस्थापन र पुनर्निर्माणको चरणमा प्रवेश गरिएको छ। प्रभावितलाई तत्काल जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न दिएर अस्थायी टहरामा बसोबासको व्यवस्था मिलाइएको छ। दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ। क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उनले बताए।
