पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही खण्डलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गर्ने काममा देखिएका बाधा हटाउन झापा प्रशासन सक्रिय भएको छ। स्थानीय बासिन्दाका माग, निर्माण सामग्रीको कमी र विद्युत्का खम्बा सार्ने काममा भएको ढिलाइले निर्माणमा अवरोध आएपछि जिल्ला प्रशासन कार्यालय झापाले समाधानको पहल थालेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजना र निर्माण कम्पनीका प्रतिनिधिसहित निर्माणाधीन सडकको स्थलगत निरीक्षण गरेका छन्। सामग्रीको अभाव हुन नदिन र स्थानीय समस्या सुल्झाउन सरोकारवालासँग छलफल भइरहेको उनले बताए।
निर्माण कम्पनी इभ्रास्कन–कालिका जेभीका क्षेत्रीय महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार स्थानीयको माग र सामग्री उपलब्धताको समस्याले काम प्रभावित भइरहेको छ। ओभरपास निर्माणका लागि चाहिने तीन लाख घनमिटर माटोका लागि राजस्व बुझाइसक्दा पनि स्थानीय तहबाट प्रक्रिया अघि नबढेको उनले बताए।
आयोजनाका इन्जिनियर आश्रय महतका अनुसार काँकरभिट्टामा डिजाइनमै नभएको ओभरपास, धुलाबारीमा बस स्ट्यान्ड व्यवस्थापन र विद्यालय क्षेत्रमा ओभरपासको मागले काममा कठिनाइ भएको छ। सहरी क्षेत्रका विद्युत्का खम्बा समयमै सार्न नसकिनु र अस्फाल्ट चिप्स तथा ब्याकफिलिङ सामग्रीको आपूर्तिमा समस्या रहेको आयोजना कार्यालयले जनाएको छ।
एसियाली विकास बैङ्कको वित्तीय सहयोगमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वी खण्ड इभ्रास्कन–कालिका जेभीले निर्माण गरिरहेको छ। उक्त खण्डका लागि रु १० अर्ब छ करोड ९४ लाख ८२ हजार ७१२ मा ठेक्का सम्झौता भएको छ। विसं २०८० माघ १९ गतेदेखि सुरु भएको आयोजनामा एसियाली विकास बैङ्कको ८४ दशमलव नौ प्रतिशत र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी छ। सम्झौता अवधि सकिन करिब तीन महिना बाँकी रहँदा पूर्वी खण्डमा हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ। प्रगति ७० प्रतिशत पुर्याउने र चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
