विश्वकै महँगो मसलामध्ये एक मानिने कश्मीरको केसर गम्भीर संकटमा परेको छ। जलवायु परिवर्तन, तीव्र सहरीकरण र बजारमा नक्कली उत्पादनको बिगबिगीले शताब्दीयौँ पुरानो यो खेतीको भविष्य अनिश्चित बनेको छ।
भारतको मुख्य केसर उत्पादन क्षेत्र पाम्पोरमा सन् २०२५ को अक्टोबरमा धेरै खेत सुक्खा देखिए। सामान्यतया अक्टोबरको मध्यदेखि नोभेम्बरको मध्यसम्म बैजनी फूलले ढाकिने क्षेत्रमा त्यस वर्ष फूल असमान रूपमा फुले, कतिपय ठाउँमा फूल नै देखिएनन्।
दुस्सु गाउँका किसान मोहम्मद आसिफका अनुसार सन् २०२५ मा उनको खेतबाट करिब २५० ग्राम मात्र केसर उत्पादन भयो, जबकि सन् २०२४ मा करिब डेढ किलो उत्पादन भएको थियो। उनले आवश्यक समयमा वर्षा नहुँदा फूल फुल्ने प्रक्रियामा तत्काल असर पर्ने बताए।
भारत सरकारको तथ्यांकअनुसार कश्मीर र आसपासको जम्मु क्षेत्रमा केसर उत्पादन सन् २०१०–११ मा आठ टन थियो। सन् २०२३–२४ सम्म आइपुग्दा यो घटेर २.६ टनमा सीमित भएको छ।
केसर क्रोकस साटिभस बिरुवाबाट प्राप्त हुन्छ। प्रत्येक बैजनी फूलभित्र तीन वटा गाढा रातो धागो हुन्छन्, जसलाई सूर्योदयअघि नै हातैले टिपेर सुकाइन्छ। करिब २८ ग्राम केसर उत्पादन गर्न झन्डै चार हजार फूल चाहिन्छ, र बिरुवा वर्षमा दुईदेखि चार सातासम्म मात्र फुल्छ। त्यसैले यसको मूल्य प्रतिग्राम चार अमेरिकी डलर वा त्योभन्दा बढी पर्छ।
जलवायु अनुसन्धानकर्ता राबिया खानका अनुसार शरद ऋतुमा वर्षाविहीन अवधि लामो र बारम्बार हुन थालेको छ, र हिमपातको स्वरूप परिवर्तनले भूमिगत पानी र माटोको चिस्यानमा असर पारेको छ। किसान अब्दुल रसिद वानीका अनुसार वर्षाको ढाँचा बदलिएपछि सिँचाइका लागि पम्पमा निर्भरता बढेको छ। खेतीयोग्य जमिन पनि निरन्तर घटिरहेको छ, किनकि सडक विस्तार, आवासीय बस्ती र व्यावसायिक निर्माणले पहिले केसर खेती गरिने क्षेत्र मासिँदै गएका छन्।
बजारमा नक्कली केसरको कारोबार अर्को चुनौती बनेको छ। आयातित केसरलाई कश्मीरी उत्पादनको नाममा पुनः प्याकेजिङ गरी बिक्री गरिने गरेको छ, जसले उपभोक्ताको विश्वास र किसानको आम्दानी दुवैमा असर पारेको छ। सरकारले सन् २०१० मा राष्ट्रिय केसर मिसन सुरु गरेको थियो, तर किसानहरूका अनुसार पाइपलाइन बिग्रिने र पानी आपूर्ति अनियमित हुने समस्या अझै कायम छ।
