काठमाडौँ महानगरपालिकाले आयोजना गर्न लागेको काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी सहभागी हुने भएकी छन्। कात्तिक १३ देखि १५ गतेसम्म चल्ने महोत्सवका लागि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर आयोजकले कार्यक्रमको विवरण सार्वजनिक गरेको हो।
महोत्सवकी निर्देशक आयुशा श्रेष्ठका अनुसार महोत्सवमा नेपाली र विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र पुरस्कार समारोह आयोजना गरिनेछ। काठमाडौँको संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने र पुराना कलाकारलाई सम्मान गर्दै उनीहरूको सिर्जनात्मक कलालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य महोत्सवको रहेको उनले बताइन्।
कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवादमा आजमी सहभागी हुनेछिन्। सोही दिन राष्ट्रिय सभागृहमा जापानी निर्देशक ताकायुकी नाकामुराले जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन्। पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा हुनेछ भने अन्तिम दिन राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रमसँगै पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ देखाइनेछ।
निर्देशक श्रेष्ठका अनुसार महोत्सवमा देखाइने सबै चलचित्र नागरिकका लागि निःशुल्क हुनेछन् र दर्शकले सिट मात्र रिजर्भ गर्नुपर्नेछ। कार्यक्रमहरू वसन्तपुर, सिटी हल, जय नेपाल हल र बौद्धमा हुनेछन् भने विदेशी चलचित्र जय नेपाल हलमा देखाइनेछन्। आजमी र अस्ट्रेलियाली चलचित्र निर्माता मुलर महोत्सवका मुख्य अतिथि रहनेछन्। खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये ‘नेपाल पानोरामा सट्स’ अन्तर्गत छनोट भएका १० चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइने आयोजकले जनाएको छ।
