भक्तपुर । नेपाली सेनाले कुकुर तिहारको अवसरमा भक्तपुरमा आफ्ना तालिमप्राप्त कुकुरहरूको पूजा गरेर सम्मान व्यक्त गरेको छ । आइतबार मध्यपुर थिमीस्थित सेनाको डग गुल्ममा पूजा कार्यक्रमसँगै कुकुरहरूको सीप प्रदर्शनी पनि गरिएको थियो ।
कार्यक्रममा सेनाका उपरथी हरेन्द्र पाठकले खोज तथा उद्धार, ट्रयाकिङ, सर्च र पक्राउजस्ता काममा कुकुरको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनका अनुसार कुकुरले फौजको काम गर्ने हौसला बढाउँछ र कठिन परिस्थितिमा पनि भरपर्दो साथ दिन्छ ।
उपरथी पाठकले साना कुकुरलाई विशेष तालिम दिएर डग गुल्मले उनीहरूबाट उत्कृष्ट जिम्मेवारी सम्पादन गर्दै आएको जानकारी दिए । उनले देशभित्र मात्र नभई विदेशमा समेत कुकुरहरूको भूमिका उल्लेखनीय रहेको बताए ।
मानिसको तुलनामा कुकुरको सुँघ्ने क्षमता १० हजारदेखि एक लाख गुणासम्म बढी हुने भएकाले टाढाबाटै शंकास्पद व्यक्ति वा वस्तु पहिचान गर्न सकिने उनको भनाइ थियो ।
सेनाले निष्ठा, इमान्दारिता र बफादारिताको प्रतीकका रूपमा हरेक वर्ष कुकुर तिहारमा कुकुरको पूजा गर्दै आएको छ ।
