काठमाडौँ । नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्ने अभियानलाई गति दिन नवलपरासीको गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ देखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना हुने भएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा महायज्ञको तयारीबारे जानकारी दिइएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले ऋषिमुनिको तपोभूमि मानिने नेपालमा वैदिक शिक्षाको केन्द्रका रूपमा वैदिक विश्वविद्यालय आवश्यक रहेको बताए । उनीहरूका अनुसार यस्तो विश्वविद्यालयले नेपालको प्राचीन धार्मिक तथा सांस्कृतिक पहिचानलाई विश्वभर चिनाउन सहयोग पुग्नेछ ।
सांसद सुशील खड्काले राष्ट्रको जग संस्कृति र त्यसको मूल सनातन परम्परा भएकाले त्यसको पुनर्जागरणका लागि वैदिक विश्वविद्यालय अपरिहार्य रहेको बताए । उनले वैदिक विश्वविद्यालय अन्य विश्वविद्यालयभन्दा विशिष्टीकृत हुने धारणा राखे ।
वैदिक विश्वविद्यालयका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले वैदिक ज्ञानका हिसाबले नेपाल विश्वकै गुरु देश बन्न सक्ने आधार रहेको बताए । विश्वविद्यालय स्थापनाका लागि नवलपरासीको गैँडाकोटमा आनन्दराज भण्डारीले एक करोड रुपैयाँ बराबरको जग्गा दान गरेको जानकारी उनले दिए ।
महायज्ञ सम्पन्न गर्न १००८ सदस्यीय समिति गठन गरिएको छ भने ५१ जनाको सचिवालयले निरन्तर काम गरिरहेको छ । पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले वेदको शिक्षा दिन यस्तो विश्वविद्यालय आवश्यक रहेको बताए । संस्कृति मन्त्रालयका पूर्वसचिव गणेशप्रसाद पाण्डेयले अध्यात्मको प्रवर्द्धनमा वैदिक विश्वविद्यालय उपयुक्त माध्यम हुने विचार राखे ।
