काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको विसं २०५४ असोज २ गते निधन भएको थियो। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा चिनिने सिंह सबैको निष्ठाको केन्द्र बनेका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह उनले अस्वीकार गर्दै आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए।
सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य बनेर राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए। त्यस अभियानमा लागेपछि उनी जेल परे। विसं २००७ अघि नै उनी भद्रगोल जेल फोरेर भाग्न सफल भएका थिए। जेलबाट भागेर भारत पुगेका उनले बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकास गरेका थिए।
विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि उनको उल्लेखनीय भूमिका रह्यो। विसं २००७ को क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए। विसं २०१५ को पहिलो निर्वाचनपछि बनेको सरकारमा उनी वरिष्ठ मन्त्री भए। विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि उनले आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए।
विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनी प्रवासमा राजनीतिक सङ्गठन विस्तारमा लागे। विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा उनले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे। विसं २०४६ को जनआन्दोलनमा कम्युनिस्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने उनी उक्त आन्दोलनका सर्वोच्च कमाण्डर बने।
जयन्तीका अवसरमा आज नेपाली कांग्रेसका दुवै समूह, भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्था तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ।
