नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो।
काठमाडौंको सुरुआत भने राम्रो भएन। टोलीले १३ रन बनाउँदैमा २ विकेट गुमाएको थियो। त्यसपछि ब्याटिङमा आएका रशिद खानले पारी सम्हाले। उनले ३० बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रन बनाए।
रशिदपछि शोहन अरचिघेले ३३ रनको योगदान गरे भने विलियम बोसिस्टोले २७ र करण केसीले २० रन बनाए। यी ब्याट्सम्यानहरूको साथमा काठमाडौंले सम्मानजनक योगफल खडा गर्यो।
बलिङतर्फ चितवनका रिजन ढकालले सबैभन्दा धेरै ३ विकेट लिए। कमलसिंह ऐरी र सिकन्दर राजाले समान २–२ विकेट हात पारे भने ड्यान मोस्लीले १ विकेट लिए।
लिगको अंक तालिकामा काठमाडौं ६ अंकसहित दोस्रो स्थानमा छ भने चितवन ५ अंकसहित चौथो स्थानमा रहेको छ।
