काठमाडौँ — घरायसी र व्यावसायिक प्रयोजनमा प्रयोग हुने खाना पकाउने ग्यास छुट्याउन नेपाल एलपी ग्यास उद्योग संघले छुट्टाछुट्टै रङका सिलिन्डर प्रयोग गर्ने प्रस्ताव अघि सारेको छ। अहिले चलनमा रहेको १४.२ किलोग्रामकै सिलिन्डरलाई घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि नीलो रङको बनाउनुपर्ने संघको माग छ।
संघले नेपाल आयल निगमलाई बुझाएको धारणामा कुल ग्यास कोटाको १० प्रतिशत व्यावसायिक प्रयोजनका लागि र बाँकी ९० प्रतिशत घरायसी प्रयोजनका लागि छुट्याउनुपर्ने उल्लेख छ। बजारको अवस्था हेरेर पछि व्यावसायिक प्रयोजनको हिस्सा थपघट गर्न सकिने संघको भनाइ छ।
ग्यास परल मूल्यमै बिक्री गरेर अनुदान पाउनुपर्ने लक्षित वर्गलाई वाणिज्य बैंकमार्फत रकम उपलब्ध गराउने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ। फरक तौलका सिलिन्डर प्रयोगमा ल्याउनुपर्ने अवस्था आएमा उद्योगहरूलाई तयारीका लागि दुई वर्षको समय दिनुपर्ने उसको प्रस्ताव छ।
घरायसी प्रयोजनका सिलिन्डरको मुनाफा प्रतिशतका आधारमा तोकिनुपर्ने माग पनि संघले राखेको छ। निगम र संघबीच २०८१ साल फागुन २० गते भएको सहमतिको बुँदा नम्बर ३ अनुसार मुनाफा निर्धारण हुनुपर्ने उसको अडान छ।
संघका महासचिव अमित अग्रवालले कात्तिक १६ गते सम्पन्न विशेष भेलाको निर्णयअनुसार यी मागसहितको धारणा बुधबार नेपाल आयल निगममा बुझाएका हुन्।
