सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ। पूर्वाधार विकास मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत यी आयोजनाको खरिद प्रक्रिया अघि बढाइएको हो।
मन्त्री सुनिल लम्सालका अनुसार विभिन्न जिल्लामा बसोबास गर्ने १३ लाख ७२ हजार नागरिकलाई आगामी ३० महिनाभित्र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले यी आयोजनाको ठेक्का खोलिएको हो। आयोजनाहरूको कुल लागत १७ अर्ब १५ करोड रुपैयाँ रहेको छ।
अघिल्लो आर्थिक वर्ष स्रोत सहमतिको अभावका कारण खानेपानी आयोजनाको कुनै पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको थिएन। खानेपानी सेवालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री लम्सालले यस वर्ष ४४ अर्ब रुपैयाँसम्मका आयोजनाको खरिद प्रक्रिया अघि बढाउने तयारी भएको बताए।
सरकारले २०८७ सालसम्म देशका सबै नागरिकको घरघरमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य लिएको छ।
