पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रहरीले मध्यरातदेखि चलाएको विशेष अभियानमा २१ जना पक्राउ परेका छन्। कास्की प्रहरीले पर्यटकलाई दुःख दिने, दुव्र्यवहार गर्ने र अनैतिक गतिविधि बढेको गुनासोपछि कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरु गरेको हो।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पर्यटकीय क्षेत्रको सुरक्षा बलियो बनाउन, पोखराको पर्यटन छविमा पर्न सक्ने नकारात्मक असर घटाउन र नजिकिँदै गरेका तिहार र छठ पर्वलाई सुरक्षित बनाउन यो अभियान थालिएको हो। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट खटिएका टोलीले अभियान सञ्चालन गरिरहेका छन्।
प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानका अनुसार कात्तिक १९ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ को लेकसाइड क्षेत्रमा जुवातास खेल्ने, होहल्ला गर्ने तथा अवाञ्छित र अनैतिक गतिविधिमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये १० जना जुवातास खेल्ने, ६ जना अवाञ्छित गतिविधिमा संलग्न, २ जना झैझगडा गर्ने र ३ जना चोरी तथा मादक पदार्थ सेवनलगायत गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।
अभियानका क्रममा २७ वटा सवारीसाधनमाथि पनि कारबाही भएको छ। तीमध्ये १५ जना चालक मादक पदार्थ सेवन गरेर सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् भने २ जनालाई अन्य ट्राफिक कसुरमा कारबाही गरिएको छ। थप अनुसन्धानका लागि १० वटा सवारीसाधन होल्डमा राखिएको छ।
प्रहरीले पर्यटकलाई दुःख दिने, अनावश्यक विवाद सिर्जना गर्ने र पर्यटन क्षेत्रको शान्ति सुरक्षामा असर पुर्याउने गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिने जनाएको छ।
