अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी मध्यावधि निर्वाचनमा पराजित भएपछि सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि दुवै प्रमुख दलबीच उम्मेदवारीको प्रतिस्पर्धा तीव्र हुने सङ्केत देखिएको छ ।
निर्वाचनको नतिजाले रिपब्लिकन पार्टीभित्र नेतृत्वको उत्तराधिकार र डेमोक्रेटिक पार्टीमा नयाँ नेतृत्वको खोजीको बहसलाई थप चर्काएको छ । दुवै दलमा सम्भावित उम्मेदवारहरूको समीकरण बदलिँदै गएको विश्लेषण गरिएको छ ।
रिपब्लिकन पार्टीबाट सम्भावित उम्मेदवारका रूपमा हेरिएका उपराष्ट्रपति जे.डी. भान्स मध्यावधि हारपछि राजनीतिक दबाबमा परेका छन् । राष्ट्रपति ट्रम्पसँगको निकट सम्बन्धका कारण पार्टीको पराजयको जिम्मेवारीसमेत उहाँले बेहोर्नुपर्ने विश्लेषण गरिएको छ । इरानविरुद्धको अलोकप्रिय युद्धलाई हारको मुख्य कारणका रूपमा औँल्याइएको छ र भान्सले आफूलाई त्यस युद्धबाट अलग देखाउने प्रयास गरिरहनुभएको छ ।
रिपब्लिकन पार्टीभित्र विदेशमन्त्री मार्को रुबियो, फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका सिनेटर टेड क्रुज पनि सन् २०२८ का सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । यद्यपि, ट्रम्प प्रशासनसँग जोडिएका नेताहरू इरान युद्धको राजनीतिक असरबाट मुक्त हुन सहज नहुने आकलन गरिएको छ ।
डेमोक्रेटिक पार्टीमा भने जर्जियाका ३९ वर्षीय सिनेटर जोन ओसोफको चर्चा बढेको छ । पुनःनिर्वाचनमा पाएको सफलताले उहाँको राष्ट्रपतीय उम्मेदवारीबारे बहस सुरु भएको हो । ओसोफले राष्ट्रपतीय दौडमा सहभागी हुने इच्छा नरहेको बताउँदै आए पनि उहाँको युवा छवि र निर्वाचन विजयले पार्टीभित्र प्रभाव बढाएको छ । उहाँलाई पूर्वराष्ट्रपति बाराक ओबामासँग तुलना गर्न थालिएको छ ।
डेमोक्रेटिक पार्टीबाट पूर्वउपराष्ट्रपति कमला ह्यारिस, पेन्सिलभेनियाका गभर्नर जोश शापिरो र क्यालिफोर्नियाका निवर्तमान गभर्नर गेभिन न्यूसम पनि सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन् ।
