काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकता स्थापित गर्ने क्रममा कुनै आर्थिक चलखेल नभएको बताएका छन् ।
बिहीबार सार्वजनिक गरिएको भिडिओ सन्देशमा थापाले राजनीतिक तथा कानुनी संघर्षका क्रममा एक सुकासमेत कसैलाई नदिइएको र कुनै अनुचित काम नगरिएको दाबी गरे । आधिकारिकताको विषयमा करोडौंको कुरा हुने गरे पनि आफूहरूले पैसाको बाटो नलिएको उनको भनाइ छ ।
थापाले जेनजी आन्दोलनपछि पार्टीभित्र विशेष महाधिवेशन भएको स्मरण गर्दै त्यसलाई भुइँ तहका कार्यकर्ताको विद्रोहको संज्ञा दिए । तल्लो तहबाट उठेको असन्तुष्टिकै परिणामस्वरूप पार्टीले नयाँ मोड लिएको उनले बताए ।
कांग्रेसको आधिकारिकताबारे पछिल्लो समय विभिन्न पक्षबाट आरोप–प्रत्यारोप चलिरहेका बेला सभापति थापाको यो भनाइ आएको हो । उनले लडाइँलाई राजनीतिक र कानुनी प्रक्रियामार्फत अघि बढाइएको स्पष्ट पारे ।
