काठमाडौं । नेपाल प्रहरीका ३४औँ महानिरीक्षक डा. मनोज केसीले द्वन्द्व रुपान्तरणको विषयमा विद्यावारिधि गरेका छन् । आफ्नै ब्याचका सहकर्मी दानबहादुर कार्कीको जिम्मेवारी खोसिएपछि केसीले बुधबारदेखि प्रहरीको कमाण्ड सम्हालेका छन् ।
मन्त्रिपरिषद्ले कार्कीलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको विशेष सुरक्षा सल्लाहकारमा खटाएपछि केसीलाई संगठनको नेतृत्व गर्ने अवसर मिलेको हो । गत वर्ष कार्की महानिरीक्षक बनेसँगै आफ्नो आशा सकिएको ठानेका केसी अब १७ महिना नेतृत्वमा रहनेछन् ।
२०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका केसी ३० वर्षे सेवा अवधि पूरा गरी २०८४ चैत १७ मा अवकाशमा जानेछन् । जेनजी आन्दोलनको संक्रमणकाल पार गरेर भर्खर अघि बढेको प्रहरीलाई सम्हाल्ने जिम्मेवारी उनको काँधमा आएको छ ।
२०८२ भदौको प्रदर्शनका क्रममा देशभरका प्रहरी कार्यालयमा आगजनी हुँदा ७४ वटा भवन पूर्ण रूपमा क्षति भए भने २२२ वटामा आंशिक क्षति पुगेको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । त्यसपछि २० वर्ष सेवा पूरा गरेका प्रहरी कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्, जसमा जुनियर तहका धेरै छन् ।
प्रहरी मुख्यालयमा पदबहालीपछि अधिकृतहरूलाई ब्रिफिङ गर्दै केसीले आधारभूत तहका प्रहरीलाई केन्द्रमा राखेर काम गर्ने र उनीहरूका गुनासो सम्बोधन गर्न छुट्टै संयन्त्र बनाउने बताए । उनले सरुवा–बढुवा पारदर्शी बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।
यसैबीच, जिम्मेवारी खोस्ने सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत गएका छन् र पुनर्बहालीको माग गरेका छन् । अदालतको फैसला नआउँदासम्म संगठनमा अस्थिरता रहने कतिपयको भनाइ छ ।
