काठमाडौं । आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि जारी २५औँ आमरण अनशनका क्रममा डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएको भन्दै जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन आग्रह गरेको हो ।
इलामबाट पछिल्लो अनशन सुरु गरेका डा. केसी हाल काठमाडौंमा उपचाररत छन् । उनले उठाएका माग सम्बोधन गरेर समस्याको समाधान खोज्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
चिकित्सा शिक्षा सुधारका मागसहित डा. केसी लामो समयदेखि सत्याग्रह गर्दै आएका छन् । यसपटकको अनशन आठौँ दिनमा पुग्दा उनको स्वास्थ्य अवस्था थप चिन्ताजनक बन्दै गएको छ । यही अवस्थालाई ध्यानमा राख्दै संघले सरकारलाई तत्काल संवादको बाटो खोल्न आग्रह गरेको हो ।
यस विषयमा संघले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा छलफल कार्यक्रम आयोजना गर्ने जनाएको छ । छलफलमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सकहरू सहभागी हुने संघले जानकारी दिएको छ ।
