काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार भय र भ्रम सिर्जना गरेर कांग्रेसलाई तर्साउने प्रयासमा लागेको आरोप लगाएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछका लागि बोलाएपछि उपस्थित भएका शिवाकोटीले ब्युरोबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
कांग्रेसका सहमहामन्त्रीदेखि सभापतिसम्म पक्राउ पर्न सक्ने हल्लाबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै शिवाकोटीले सरकार भ्रमबाट नआत्तिएकाहरूलाई भय देखाएर तर्साउन लागेको बताए । अफवाह र प्रोपोगान्डा फैलाएर आफूहरूलाई लखेट्न सकिने भ्रमबाट सरकार चाँडै निस्किनुपर्ने उनको भनाइ थियो ।
कांग्रेसको विगत स्मरण गराउँदै उनले इतिहास नपढेकाहरूलाई इतिहास पढाउन आफूहरू तयार रहेको बताए । कांग्रेस पञ्चायत ढालेर र राजाको प्रत्यक्ष शासनलाई पनि ठाउँमा पुर्याएर आएको पार्टी भएको उनले उल्लेख गरे । त्यही पार्टीका कार्यकर्ता आफूहरू प्रत्येक पटक संघर्ष गर्दै आएको उनको भनाइ थियो ।
सरकारलाई आगोमा हात नहाल्न चेतावनी दिँदै शिवाकोटीले त्यस्तो दुस्साहस गरिए सरकार र नेतृत्वले नै त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
शिवाकोटी साइबर ब्युरोले बोलाएपछि उपस्थित भएका थिए र सोधपुछपछि बाहिरिएका हुन् । उनको भनाइले सरकार र कांग्रेसबीचको तनाव थप चर्किने संकेत देखिएको छ ।
