दसैँको बिदामा यात्रा गर्नेको चापसँगै ट्राफिक प्रहरीले सडकमा कडाइ बढाएको छ । घटस्थापनादेखि कात्तिक ६ गतेसम्मको १३ दिनमा काठमाडौँ उपत्यकामा मादक वा लागू पदार्थ सेवन गरेर सवारी चलाउने ९ सय ८२ जना चालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९ सय ४७ जना र लागू पदार्थ सेवन (लापसे) गरेर चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो ।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मापसेका ९ सय ४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक छन् । त्यस्तै लापसेमा समातिएका सबै ३५ जना सार्वजनिक सवारीसाधन चलाउँदै थिए ।
प्रहरीले मादक र लागू पदार्थ सेवन गरेर सवारी चलाउनु गैरकानुनी भएको जनाउँदै सम्बन्धित चालकमाथि ट्राफिक ऐनअनुसार कारबाही गरेको छ । चाडपर्वका समयमा आवागमन बढ्दा यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउने भन्दै ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिने बताएको छ ।
