चाडपर्वको भीडभाडको फाइदा उठाउँदै घ्यूको नाममा प्रतिबन्धित चिल्लो पदार्थ बेचिरहेको पसलमाथि कर्णालीमा कारबाही भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगरको पूजा पसल तथा स्टोरबाट यस्तो पदार्थका करिब दुई दर्जन बट्टा बरामद गरी आजै नष्ट गरेको छ।
शुक्रबार बजार अनुगमनका क्रममा पुगेको टोलीले ती बट्टामा ‘श्रीकृष्ण पूजा घ्यू’ लेखिएको फेला पारेको थियो। कार्यालयका सूचना अधिकारी सन्तोष दाहालका अनुसार दसैँ–तिहारमा पूजा, होम, हवन र दीप प्रज्वलनका लागि तयार पारिने चिल्लो पदार्थलाई घ्यूका रूपमा बिक्री–वितरण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसअघि नै प्रतिबन्ध लगाएको थियो। सूचनाका बावजुद देशका विभिन्न बजारमा यस्तो पदार्थ बेचिँदै आएको उनले बताए।
यो पहिलो पटक भएकाले पसलधनीलाई सचेत गराइएको छ। दोस्रो पटक यस्तो अवैध कार्य भेटिए कारबाहीका लागि सिफारिस गरिने चेतावनीसमेत दिइएको सूचना अधिकारी दाहालको भनाइ छ। चाडपर्वमा मानिसको आवतजावत बढ्ने र त्यसको फाइदा उठाएर केही व्यापारीले कालोबजारी गर्न सक्ने भएकाले बजार अनुगमनलाई नियमित र तीव्र बनाइएको उनले जानकारी दिए।
कार्यालयका प्रमुख श्रीराम न्यौपानेका अनुसार सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद कर्णालीका दशमध्ये सात जिल्लालाई कार्यक्षेत्र बनाएर स्थानीय तहसँगको समन्वयमा खाद्य स्वच्छता अभियान चलाइएको छ। जुम्ला कार्यालयले भने जुम्ला, मुगु र कालिकोट जिल्ला हेरिरहेको जनाइएको छ।
