काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मानलाई अझ बलियो बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । बडादसैँ २०८३ को अवसरमा आज शुभकामना दिँदै उनले पर्वले सम्पूर्ण नेपालीबिच सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ बलियो बनाओस् भन्ने शुभेच्छा प्रकट गरे ।
देश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई उनले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर उन्नतिको कामना गरे । धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको दसैँ मौलिक पर्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यो असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बताए ।
मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्पराले पर्वको महत्त्व बढाएको उनको भनाइ छ । घटस्थापनादेखि विजयादशमीसम्मका धार्मिक अनुष्ठान र पारिवारिक पुनर्मिलनले सांस्कृतिक सम्पदालाई जीवन्त बनाएको उल्लेख गर्दै उनले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कारको संरक्षणमा जोड दिए ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उनले संविधानले धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता प्रत्याभूत गरेको बताए । संविधानले सबै समुदायका भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा संवर्द्धनलाई महत्त्व दिएको उनको भनाइ छ । सबै धर्म, सम्प्रदाय र समुदायका चाडपर्वप्रति समान सम्मान र सहिष्णुता राख्दै विविधताभित्रको एकता बलियो बनाउनु सबैको साझा जिम्मेवारी भएको अध्यक्ष दाहालले बताए ।
