काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभएर मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन् । विजयादशमी २०८३ को अवसरमा आज जारी शुभकामना सन्देशमा उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुने युगीन सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरणको समीक्षा गर्ने अवसर दिने बताए ।
असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक सोचमाथि मानवता, विवेक र नैतिक शक्तिको जित सुनिश्चित हुने विश्वासलाई विजयादशमीले अझ बलियो बनाउने उनको भनाइ छ । पर्वले समाजमा सहिष्णुता, आत्मअनुशासन, संयम र कर्तव्यप्रतिको निष्ठा बढाउने उल्लेख गर्दै उनले लोभ, घृणा, अहङ्कार, ईर्ष्या र वैमनस्यजस्ता दुर्गुण त्यागेर सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको बाटोमा हिँड्न दसैँले प्रेरणा दिने बताए ।
दसैँ पुनर्मिलन र आत्मीयताको महापर्व भएको उल्लेख गर्दै उपराष्ट्रपतिले शिक्षा, रोजगारी, व्यवसाय वा अन्य कामले परिवार र समुदायबाट टाढा रहेकाहरू यस मौकामा प्रियजनसँग भेटेर सम्बन्ध नवीकरण गर्ने बताए । ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको आदर र कनिष्ठप्रतिको मायाको आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्ध अझ बलियो बनाउने अवसर मिल्ने उनको भनाइ छ । यसरी विजयादशमी धार्मिक संस्कारमा मात्र सीमित नरहेर सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको उनले बताए ।
परम्परागत संस्कार, लोककला र लोकसङ्गीतजस्ता सांस्कृतिक पक्षको संरक्षणमा विजयादशमीजस्ता पर्वको ठूलो योगदान रहेको उनले बताए । बदलिएको विश्व परिवेशमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना अझ आवश्यक भएको उल्लेख गर्दै उनले साझा राष्ट्रिय हित र समुन्नत नेपाल निर्माणतर्फ अघि बढ्न पर्वले प्रेरणा देओस् भन्ने कामना गरे । देश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई उनले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर उन्नतिको शुभकामना दिए ।
