काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढाइरहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐनको कार्यान्वयन, चिकित्सा शिक्षा आयोगको स्थापना र छात्रवृत्ति व्यवस्थापनलाई यसका प्रमुख उपलब्धि भनेको छ ।
ऐन जारी भएपछि आयोग गठन भएको र आयोगमार्फत साझा प्रवेश परीक्षा, तहगत तथा विषयगत कोटा निर्धारण, छात्रवृत्तिमा विद्यार्थी छनोट र शैक्षिक संस्थाको नियमन हुँदै आएको मन्त्रालयको भनाइ छ । छात्रवृत्ति कोटा तोकेर ठूलो संख्यामा विद्यार्थीलाई निःशुल्क पढ्ने अवसर दिइएको पनि मन्त्रालयले जनाएको छ ।
चिकित्सा शिक्षाको पहुँच देशभर फैलाउन विभिन्न प्रदेशमा नयाँ संस्था र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । सुदूरपश्चिमको कैलालीस्थित गेटामा स्थापना भएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यस वर्षदेखि विभिन्न विधामा पठनपाठन सुरु भएको छ भने कर्णालीको सुर्खेत, लुम्बिनीको बुटवल र मधेशको बर्दिबासमा पूर्वाधार विकास भइरहेको छ ।
पछिल्लो पटक २०८३ साउन ११ मा डा. केसीसँग भएको सहमतिका बुँदा लागू गर्न कार्यदलहरू गठन भई काम गरिरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयले शिक्षा क्षेत्रको सेवा प्रवाह र सुशासनलाई पनि आगामी दिनमा प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यता डा. केसीले बिहीबारदेखि इलामको नारायण मन्दिरमा २५औँ सत्याग्रह थालेका छन् । न्यूनतम पूर्वाधार र प्राज्ञिक जनशक्तिबिना गेटा विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिएको र विभिन्न शिक्षण संस्थामा सिट बढाएको भन्दै उनले ती निर्णय खारेज गर्न माग गरेका छन् ।
