विराटनगरमा पार्टीका अगुवाहरूसँगको अन्तक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले आगामी दशकभित्र देशलाई सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने पार्टीको सपना रहेको बताएका छन्। विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिलाई केन्द्रमा राखेर आफूहरू शपथ लिएकै दिनदेखि निरन्तर काममा लागेको उनको भनाइ छ।
जनतासामु गरिएका प्रतिबद्धतालाई परिणाममा बदल्न पार्टी र सरकार दुवै क्रियाशील रहेको परियारले बताए। वाचापत्रअनुसार काम, नतिजा र सुशासन सुनिश्चित गर्नु आफूहरूको दायित्व भएको उनको भनाइ छ।
परियारले संसद्लाई जनताका सवाल उठाउने र सरकारलाई जवाफदेही बनाउने बलियो थलोका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए। जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै आफूहरू निरन्तर सिकिरहेको, कमजोरी सच्याइरहेको र आत्मसुधारको बाटोमा रहेको उनले बताए।
राजनीतिक दल र जनप्रतिनिधिले आफूलाई सधैं सही ठान्नुभन्दा जनताका प्रश्न, आलोचना र सुझावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
साथै, पद र शक्तिका कारण पार्टीका नेता, सांसद र मन्त्रीमा अहंकार बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गर्दै उनले सञ्चारमाध्यम र नागरिक समाजलाई रचनात्मक खबरदारी निरन्तर राख्न अपिल गरे। आफूहरूबाट पनि कमजोरी हुन सक्ने भन्दै गलत काम देखिए खबरदारी गर्न उनले आग्रह गरे।
