काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले न्यायपालिकामा देखिएको पुरानो विकृतिको अवशेष अझै कायम रहनु दुःखद भएको बताएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि प्रश्न उठिरहेको अवस्थामा उनले यस्तो धारणा राखेका हुन्।
परियारका अनुसार न्यायालय संविधानको व्याख्या गर्ने सर्वोच्च निकाय हो, जहाँ सामान्य नागरिकदेखि पूर्वराष्ट्रपति र पूर्वराजासम्म, कर्मचारीदेखि उद्योगी, सेनादेखि खेलाडी र कलाकारसम्म न्याय खोज्दै पुग्छन्। यस्तो अन्तिम निकायमा विगतको विकृतिको छाप अझै बाँकी रहनु विडम्बना भएको उनको भनाइ छ।
उच्च ओहदामा रहेका व्यक्तिले विधि, विधान र कानुनको दायराभित्र रहेर पद र संस्थाको मर्यादा जोगाउनुपर्ने उनले बताए। आफ्नो न्यूनतम दायित्व पूरा गर्न नसक्दा संस्थाप्रतिको सम्मान घट्ने र लोकतन्त्र कमजोर हुने उनको तर्क छ। त्यस्तो अवस्था रहेसम्म विद्रोहको भावना बाँकी रहने उनले चेतावनी दिए।
विवादास्पद विचौलिया इनम सापकोटासँग न्यायाधीश र प्रहरी अधिकारीहरूको संवाद सार्वजनिक भएपछि न्यायपालिकामाथि प्रश्न उठेको हो। सापकोटाको मोबाइल तथा विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, न्यायाधीश र प्रहरीका उच्च अधिकारीसँगको संवाद तथा कारोबारका विवरण फेला परेका छन्। सात जना न्यायाधीशले सापकोटासँग सामूहिक भेट गरेको विषय पनि बाहिरिएको छ।
यसै पृष्ठभूमिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक निष्पक्षता, आचरण र इजलास गठनको पारदर्शिताबारे छलफल गर्न सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठक बोलाएका छन्।
