वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित भेटमा आणविक निशस्त्रीकरण र युक्रेन युद्धबारे छलफल हुन सक्ने सङ्केत गरेका छन् ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै ट्रम्पले युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन् । उनको यो भनाइले वासिङ्टन र किएभबीचको मतभेद थप छताछुल्ल पारेको छ ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीन नेताबीच त्रिपक्षीय बैठकबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताएका छन् ।नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देशका नेता सहभागी हुने अपेक्षा गरिएको छ । तर चिनियाँ विदेश मन्त्रालयले सम्भावित भेटबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ ।युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको सहभागिताबिना हुने कुनै पनि बैठकले रुसी राष्ट्रपति पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहन दिन सक्ने चेतावनी दिएका छन् । यता पेस्कोभले युक्रेनसँग अन्तिम शान्ति सम्झौता गर्न युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक रहेको बताएका छन् ।यसैबीच, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । सोमबार खार्किभ क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणमा बालबालिकासहित छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । युक्रेनले अमेरिकाले महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोप पनि लगाएको छ ।
चीनमा ट्रम्पको पुटिन र सीसँग भेटको इच्छा, युक्रेन युद्ध छलफलमा
