स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले महिला फुटबलको सर्वोच्च व्यक्तिगत सम्मान बालोन डी’ओर तेस्रो पटक आफ्नो नाममा लेखाएकी छन्। यससँगै उनी देशकै अर्की स्टार एइताना बोनमतीसँगै तीन पटक यो उपाधि जित्ने खेलाडीको कीर्तिमानमा पुगेकी छन्। अन्तर्राष्ट्रिय पत्रकारहरूको मतका आधारमा छानिने यो सम्मान पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि जितेकी थिइन् भने बोनमतीले २०२३ देखि २०२५ सम्म लगातार तीन वर्ष कब्जा गरेकी थिइन्।
३२ वर्षीया पुटेलासको यो सफलताले महिला बालोन डी’ओर लगातार छैटौँ वर्ष पनि स्पेनमै रहन पुगेको छ। बार्सिलोनालाई सन् २०२५–२६ को सिजनमा चार उपाधि दिलाउन उनको भूमिका निर्णायक रह्यो। मतदानमा बार्सिलोनाकी स्ट्राइकर एवा पाजोर दोस्रो र म्यानचेस्टर सिटीकी फरवार्ड खादिजा श तेस्रो स्थानमा रहे।
पुटेलासको यो जित उनको पुनरागमनको कथासँग पनि जोडिएको छ। सन् २०२२ मा घुँडाको अगाडिको लिगामेन्ट च्यातिएपछि उनको खेलजीवन नै संकटमा परेको थियो र उनी त्यस वर्षको महिला युरोपियन च्याम्पियनसिपबाट बाहिरिन्। सन् २०२३ मा स्पेनले विश्वकप जित्दा पनि उनले सीमित भूमिका मात्र पाइन्। तर त्यसपछि उनको प्रदर्शन क्रमशः उक्लिँदै गयो, र सन् २०२४ को च्याम्पियन्स लिग फाइनलमा उनले गोल गरिन्।
गत सिजन पुटेलासले सबै प्रतियोगितामा २१ गोल गर्नुका साथै १३ गोलका लागि अवसर सिर्जना गरिन्। महिला च्याम्पियन्स लिगमा उनले सात गोल गरिन्, जहाँ बार्सिलोनाले पछिल्ला छ सिजनमा चौथो पटक उपाधि उचाल्यो। घरेलु लिगमा पनि बार्सिलोना लगातार सातौँ पटक च्याम्पियन बन्यो। बोनमती पाँच महिना चोटका कारण बाहिर रहँदा पुटेलासको जिम्मेवारी झन् बढेको थियो।
बार्सिलोनामा १४ वर्ष बिताएकी पुटेलासले क्लबबाट ३८ उपाधि जितेकी छन्, जसमा १० लिग उपाधि र चार युरोपियन कप छन्। बाल्यकालदेखि बार्सिलोनाकी समर्थक उनी क्लबको चर्चित युवा एकेडेमी ला मासियामा पनि हुर्किएकी हुन्। तर गत जुलाईमा नयाँ चुनौती खोज्दै उनी इंग्ल्यान्डको महिला सुपर लिग क्लब लन्डन सिटी लायनेसमा सरिन्, जहाँ उनले अहिलेसम्म सात लिग खेलमा तीन गोल र एक असिस्ट गरिसकेकी छन्।
