स्याङ्जा । बहुविवाहको कसुरमा सजाय पाएर लामो समयदेखि भागिरहेका एक व्यक्ति सात वर्षपछि प्रहरीको नियन्त्रणमा आएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय बालसिंह गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले ७ कात्तिकमा गुरुङलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि ९ कात्तिकमा आवश्यक कारबाहीका लागि उनलाई स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि बाँकी कैद भुक्तान गर्न र जरिवाना तिर्न उनलाई कारागार कार्यालय स्याङ्जा पठाइएको छ।
स्याङ्जा जिल्ला अदालतले २०७६ वैशाख १२ गते गुरुङलाई बहुविवाह मुद्दामा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत पोखराले २०७६ मंसिर ९ गते जिल्ला अदालतकै फैसला कायम राखेको थियो।
अनुसन्धानका क्रममा गुरुङ २०७५ साउन ६ देखि २६ गतेसम्म प्रहरी हिरासतमा रहेका थिए। त्यो अवधि कुल कैदबाट घटाउँदा उनले अब ११ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रहेको अदालतको अभिलेखमा उल्लेख छ। साथै पाँच हजार रुपैयाँ जरिवानासमेत असुल गर्नुपर्नेछ।
